देश

थानकोटमा ढलेको त्रिभुवनको सालिक उठ्यो

काठमाडौं, कात्तिक २६–चन्द्रागिरी नगरपालिका– ४ स्थित थानकोट त्रिभुवनपार्क हाताभित्र रहेको त्रिभुवनको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त बनाएको उक्त शालिकलाई जीर्णोद्धार गरी पुनर्स्थापना गरिएको हो ।

चन्द्रागिरी नगरपालिका– ४, थानकोट त्रिभुवन पार्कमा २०२९ सालमा स्थापना भएको त्रिभुवनको शालिक चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र वडा नं. ४ का वडाध्यक्ष कृृष्णप्रसाद खड्गीको विशेष पहलमा पुनर्निर्माणपश्चात् ४ वर्षपछि जीर्णोद्धार गरी पुनर्स्थापना गरिएको शालिक जीर्णोद्धार तथा संरक्षण उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले पौराणिक महत्त्व बोकेको र चन्द्रागिरीभन्दा पनि सबैको चिरपरिचित भम्रण स्थल त्रिभुवन पार्कको विकास आन्तरिक पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भूकम्पले थलिएको त्रिभुवनपार्क नयाँ र आकर्षक पार्कको रूपमा देशवासीले देख्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै चन्द्रागिरी– ४ का वडाध्यक्ष खड्गीले चन्द्रागिरी र आन्तरिक पर्यटनको विकासमा त्रिभुवन पार्क कोसेढुङ्गा सावित भइसकेको र पार्कलाई व्यवस्थित र मर्या्दित बनाउन अब नगरपालिकाको भूमिकालाई सशक्त बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, १ नं वडाका वडाध्यक्ष राजेन्द्र केसीलगायतका अन्य वडाध्यक्षहरूलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Featured