देश

देशभर चिसो बढ्यो

काठमाडौं, कात्तिक २६–काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।

मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको । मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्नेर पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । (रासस)

Featured