देश

भीआईपी जुवाडेको सम्पत्ति छानबिन सुरू

काठमाडौं, कात्तिक २६–सोमबार साँझ धरौटीमा रिहा भएका २५ जना ’हाइप्रोफाइल जुवाडे’ रिहा भएको केही समयमै पुनः पक्राउ परेका छन् । उनीहरुमाथि सम्पत्ति शुद्धीकरणको अभियोग लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । १७ कात्तिकमा महाराजगञ्जस्थित गौतम श्रेष्ठको घरबाट पक्राउ परेका उनीहरुको जुवा खालबाट प्रहरीले २ करोड ६७ लाख बरामद गरेको थियो । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई धरौटी मागेर छाड्ने आदेश गरेको थियो ।

तोकेको धरौटी बुझाएर बाहिरिने क्रममा उनीहरु सोमबार साँझ फेरि पक्राउ परेका महानगरीय प्रहरी वृत्त महराजगञ्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए । पक्राउ परेका २५ जनालाई मंगलबार बिहानै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइएको लम्सालले बताए ।

जुवाखालमा नै त्यति ठूलो रकम बरामद भएपछि उनीहरुको अकुत सम्पत्ति रहेको हुनसक्ने आशंकामा अनुसन्धान गर्न प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेखेको थियो । सोही आधारमा विभागले अनुसन्धान थालेको हो । पक्राउ पर्नेहरुमा काठमाडौंका रञ्जन राजबंशी, श्यामप्रसाद पराजुली, अशोक श्रेष्ठ, सिताराम खड्का, विक्रम गौतम, राम तामाङ्ग, कृष्ण भण्डारी, सुमन अग्रवाल, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, शम्भु बुढाथोकी, बुद्ध लामा रहेका छन् ।

त्यस्तैगरी, ललितपुरका सोहिल कार्की, दोलखा भीमेश्वरका रामकृष्ण केसी, काभ्रेका इन्द्र श्रेष्ठ, रोशन तामाङ्ग, बलराम सापकोटा, धावा लामा, नवाङ लामा र प्रदीप बोगटी, ओखलढुङ्गाका सुमन गुरुङ्ग, रौतहट चन्द्रनिगापुर– ३ का सोवित सिलवाल, बाराका प्रेमथापा मगर, सिन्धुपाल्चोकका शम्भु शेर्पा पनि पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ९० थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

Featured