देश

बंगलादेशका राष्ट्रपति आउँदा ३ घण्टा एयरपोर्ट बन्द

काठमाडौं, कात्तिक २६–बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ३ घण्टा बन्द भएको छ । अतिविशिष्ट व्यक्तिको आवागमन सुरक्षाका लागि एयरपोर्ट बन्द गरिएको हो । अतिविशिष्ट विदेशी पाहुन आउन लागेकाले केही बेर एयरपोर्ट बन्द गरिएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख डीआईजी सूर्य उपाध्यायले जानकारी दिए ।

‘अतिविशिष्ट पाहुन आउने सूचना थियो, उहाँको सुरक्षाका लागि केहीबेर विमानस्थल बन्द गरिएको हो, उहाँको आगमन भइसकेपछि विमानस्थल सूचारु हुन्छ,’ डीआईजी उपाध्यायले शिलापत्रसँग भने । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आजदेखि नेपालको राजकीय भ्रमणमा छन् । सुरक्षाको कारण देखाएर विमानस्थल बन्द गरिएपछि यात्रुको विचल्ली भएको छ । विमानस्थल बन्द हुने वा हवाई जहाज समयमै नउड्ने भएपछि यात्रुलाई सोहीअनुसारको जानकारी दिनुपर्ने यात्रुले बताए ।

‘भीभीआईपी आउँदै छन् भनेर हामीलाई ३ घण्टादेखि रोकिएको छ, जहाज उडेका छैनन्, उडान ढिला हुने हो भने एयरलाइन्सले हामीलाई पहिल्यै खबर गरेको भए हामी त्यहीअनुसार समय मिलाएर आउने थियौं, एयरपोर्टमा ल्याएर हामीलाई किन यस्तो विचल्ली पारेको ?’ आन्तरिक उडानका यात्रु सुकल्याण पराजुलीले एयरपोर्टबाटै भने ।

यात्रुहरूले आफ्नो महत्त्वपूर्ण काममा असर पर्ने गरी उडान रोकिएकोप्रति आक्रोश व्यक्त गरेका छन् । भीभीआईपीका नाममा विमानस्थल बन्द गरिनु उचित नभएको यात्रुको भनाइ छ । ‘पहिलो कुरा त उडान ढिलो हुने हो भने यात्रुलाई सोहीअनुसारको जानकारी दिनुपर्थ्यो, दास्रो कुरा, भीभीआईपीको नाममा हामीले आफ्नो अतिमहत्त्वपूर्ण र अत्यावश्यक काम माया मार्नुपर्ने कारण के हो ? कहिले राष्ट्रपतिको सवारी भनेको छ, कहिले प्रधानमन्त्रीको सवारी भनेको छ, अब मन्त्रीको सवारी हुने होला, मुख्यमन्त्रीहरूको सवारी हुने होला, हामीले कसकसलाई सवारी गर्न दिएर यस्तो दुःख झेल्नुपर्ने हो,’ पराजुलीले भने ।

यात्रुले यस्तो गुनासो गरे पनि सुरक्षा गार्ड प्रमुख डीआईजी उपाध्याय भने सुरक्षा सतर्कता अपनाइएको दाबी गर्छन् । ‘अतिविशिष्टको सुरक्षाको लागि हो, अन्य कारणले उडान रोकिएको होइन,’ उपाध्यायले भने । राष्ट्रपति हमिद नेपाल भ्रमणमा आउने भएकाले बिहान साढे १० बजेदेखिका आन्तरिक उडानतर्फका सबै उडान रोकिएको छ ।

Featured