देश

वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र बन्यो पार्किङ क्षेत्र, हिँडडुल गर्नै समस्या

काठमाडौं, कात्तिक २६–विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सर्वसाधारणका लागि पार्किङस्थल बन्नुका साथै सवारी आवागमनले कोलाहल बढेको । प्रत्येक साँझ ५ बजे कार्यालय समयपछि सवारी साधनको बाक्लो पार्किङ हुने गरेको छ भने वसन्तपुर वरपर आवागमन पनि बाक्लै हुने गरेको छ ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र कार्यालयले यसअघि दरबार क्षेत्र परिसरमा सञ्चालित विभिन्न कार्यालय, पसल तथा रेस्टुराँ मालिक र सरकारी नम्बर प्लेटको गाडीलाई पार्किङको सुविधा उपलब्ध गराउँदै आएपछि समस्या अझ जटिल बनेको हो। सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा पर्दै गएको छ ।

उक्त सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएसँगै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयले पनि सरकारी मात्र नभई निजी तथा आफ्ना सवारी साधनलाई पार्किङ सुविधाका अतिरिक्त निर्विवाद रूपमा आवागमनको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

काठमाडौँ महानगरपालिका हनुमानढोका कार्यालयका निमित्त प्रमुख टिना बज्राचार्य वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको पार्किङ हटाउन नसकिएको स्वीकार्छिन् । ‘कार्यालय समयमा नियन्त्रण भएकै छ तर साँझ समस्या हुन्छ,’ उनले भनिन् । सवारी साधन रोक्न खोज्दा चालकले महानगरपालिकाको सुरक्षाकर्मीमाथि नै हातपात गर्ने गरेको बताइन्छ । यतिसम्म कि किनमेल तथा ब्यापारका क्रममा नयाँ सडक घुम्न आउने सरकारी कर्मचारीका सवारीसमेत घण्टौँसम्म पार्किङ हुने गरेका छन् ।

उनले भनिन्, ‘‘न्युरोडबाट वसन्तपुर जाने सवारी रोक्न र दरबार क्षेत्रको पार्किङ हटाउन खोज्दा दुई पटक कुटाकुट नै भइसक्यो, दिउँसो कार्यालय सयममा सरकारी गाडी र परिसरभित्रका कार्यालय तथा व्यापारीको बाहेक अन्य सवारी साधनलाई पार्किङको सुविधा छैन । साँझ समस्या छ ।’’ यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured