देश

सामाजिक सुरक्षा कोषमा जोडिने सिएनआइको प्रतिबद्धता

काठमाडौं, कात्तिक २५–सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न नेपाल उद्योग परिसंघ (सिएनआइ) ले प्रतिबद्धता जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगको भेटमा परिसंघले सामाजिक सुरक्षा कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अन्तिम समय मंसिर १४ गतेसम्म छ । छलफलका क्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव मन्त्री विष्टलाई प्रदान गरेको छ ।

परिसंघले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा, विदेशी कामदारको प्रश्न, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिबारे रोजगारदाता तथा श्रमिकका सुझाव समेटेर प्रतिवेदन तयार गरेको जनाएको छ । अध्यक्ष मोरले परिसंघका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षाको सुनिश्चित हुने हुँदा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनसक्ने बताएका छन् ।

मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रमलाई आकर्षक र प्रतिफलमुखी बनाउँदै जान सरकार तयार रहेको प्रतिबद्धता जनाए । नेपालको सन्दर्भमा सामाजिक सुरक्षा नयाँ कार्यक्रम भएकाले व्यावहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने उनले स्पष्ट पारे ।

भेटमा मन्त्रालयका सचिव विनोद केसी, सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीका साथै परिसंघका तर्फबाट उपाध्यक्षहरु विष्णु अग्रवाल, सुलभ अग्रवाल, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारदालगायत उद्यमी व्यवसायीको उपस्थिति थियो ।

Featured