विदेश

बुलबुल आँधीबाट बंगालादेश र भारतमा २० जनाको मृत्यु, २० लाख प्रभावित

एजेन्सी, कात्तिक २५–बंगलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नामको सामुद्रिक आँधीबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । आँधी प्रभावित २० लाखभन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८स्३० बजे भारतको पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुबै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ । बुलबुलबाट भारतको पश्चिम बंगालमा १० जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले जनाएको छ । अन्य दुई जनाको ओडिशा राज्यनजिकै मृत्यु भएको छ ।

बंगलादेशमा आठ जनाको मृत्यु भएको छ । बंगलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँच जना माझी हराइरहेको समाचारहरूमा उल्लेख छ । बुलबुलबाट प्रायः माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको जनाइएको छ । बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डा. अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरेको बताएका छन् ।

Featured