देश

अघोरी बाबाकी श्रीमती शारदा पाण्डेविरूद्द ठगी मुद्दा चलाउने तयारी

काठमाडौं, कात्तिक २५–‘अघोरी बाबा’का रुपमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डे आज थुनामै रहने भएकी छन् । उनीविरुद्ध उजुरी दिने चितवनकी युवतीसँग प्रहरीले छलफल गराए पनि सहमति नभएपछि शारदा थुनामै रहने भएकी हुन् । प्रहरीले पक्राउ गरेको २४ घण्टासम्म सोधपुछका लागि थुनामा राख्न पाउँछ । त्यसपछि थप अनुसन्धान गर्नु परे अदालतबाट म्याद थपको अनुमति लिनुपर्ने हुन्छ ।

शारदाले पूर्वपति गोविन्द अधिकारीसँग बिहे गराएर अमेरिका पठाइदिने भनी पैसा लिएको तर नपठाएको भन्दै ती युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शारदालाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो । अहिले उनलाई बौद्ध प्रहरी कार्यालयमै राखिएको बौद्धका डीएसपी रमेशकुमार सिंहले जानकारी दिए । पाण्डेविरुद्ध ठगी मुद्दा चलाउने तयारी भएको बौद्ध प्रहरीले जनाएको छ ।

Featured