देश

संसदीय समितिको निर्देशन : लिम्पियाधुरासम्मको नक्सा जारी गरी विद्यार्थीलाई पढाउ

काठमाडौं, कात्तिक २५–कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको हो । समितिले नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा समेत सुधार गरी पाठ्यक्रम निर्माण गर्न भनेको छ । बैठकले ‘अहिलेसम्म प्रयोग भइरहेको नेपालको नक्सामा लिम्पियाधुरासम्मको भूभाग समावेश गरी नयाँ नक्सा बनाउन नेपाल सरकारलाई निर्देशन दिने’ निर्णय गरेको छ ।

समितिले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूभाग परेको विषयमा कूटनीतिक र राजनीतिक तवरमा छलफल अघि बढाउन पनि भनेको छ । समितिले कालापानीलगायत अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न सरकारलाई सुझाव पनि दिएको छ ।

समिति बैठकमा प्रधानमन्त्रीलाई बोलाइए पनि उनी गएनन् । बैठकमा पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा गएका थिए । दाहालले सीमा समस्या द्विपक्षीय छलफल र संवाद गरेर टुंग्याउनु पर्नेमा जोड दिए । गृहमन्त्री थापाले भने सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा केन्द्रित गर्ने तयारी रहेको जानकारी गराए । उनले भने, ‘पहिला करिब ३५ किलोमिटरमा सीमा सुरक्षा पोष्ट थिए । अब १०–१० किलोमिटरमा सुरक्षा पोष्ट राख्छौं ।’

Featured