देश

रोयल्टी व्यवस्थित बनाउनुपर्नेमा जोड

बुटवल, कातिक २५–गीत संगीत बजाएबापत प्राप्त हुने रोयल्टी कलाकारको पेन्सनजस्तै भएकाले त्यसलाई थप व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सोमबार बुटवलमा आयोजित प्रतिलिपि अधिकार एवं संगीत रोयल्टी व्यवस्थापन विषयक अन्तर्क्िरयामा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरूले रोयल्टी कलाकारहरूको भविष्यसँग जोडिएको विषय भएकाले त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

अन्तरक्रियामा बोल्दै प्रदेश ५ सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले गीत संगीतबाट प्राप्त हुने रोयल्टीले कलाकारहरू सम्मानित ढंगले बाँच्नका लागि सघाउ र्पुयाउने बताए । उनले कार्य्विधि बनाएर रोयल्टी दिने बानीको विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री चौधरीले संगीत रोयल्टी संकलनमा प्रदेश ५ उदाहरण बन्ने प्रतिवद्धता जनाए । त्यस्तै, प्रदेशसभा सदस्य गीता थापाले कलाकारको सम्मानका लागि आवश्यक कानुन निर्माणमा जोड दिइने उनले बताइन् ।

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका शाखा अधिकृत सुष्मा पोखरेलले बौद्धिक सम्पत्तिका रूपमा रहेको सिर्जनालाई कसैले पनि अवमूल्यन गर्न नहुने बताइन् । नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निर्वातमान अध्यक्ष चन्द्र शर्माले ३९ क्षेत्रबाट संगीत रोयल्टी पाउनुपर्नेमा मुश्किलले आधा दर्जन क्षेत्रबाट मात्रै रोयल्टी संकलन हुने गरेको बताए ।

उनले पाउनुपर्ने क्षेत्रबाट रोयल्टी नआउँदा कलाकारको सिर्जनाको सम्मान हुन नसकेको र कलाकार मारमा परेको बताए । उनले संगीतसम्बन्धी स्पष्ट कानुन बनाउन माग गरे । त्यसैगरी, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका महासचिव हुम गैरेले रेडियो तथा टेलिभिजनहरुले संस्थाले गर्ने आम्दानीको एक प्रतिशतले रोयल्टी बापतको रकम दिनुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, यातयात व्यवस्था कार्यालय बुटवलका प्रमुख मुक्ति पाण्डेलगायतले बोल्दै संगीत स्रष्टाको सम्पत्ति भएकाले त्यसको संरक्षण सबैको दायित्व भएको बताए । सोही समारोहमा यातायात क्षेत्रबाट सबैभन्दा रोयल्टी संकलन गरेको भन्दै यातयात व्यवस्था कार्यालय बुटवलका प्रमुख मुक्ति पाण्डे र भैरहवाका प्रमुख बोमलाल भन्डारीलाई सम्मानसमेत गरिएको थियो ।

Featured