खेलकुद देश

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौं, कात्तिक २५–बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन ९ नौ खेलाडी सहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

बङ्गलादेश जानेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी रहेकाछन् । मंगलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह (सहायक प्रशिक्षक) र फिजियो विक्रम न्यौपाने तथा बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जाने छन् ।

प्रतियोगितामा नेपाल सहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, ओमान र हङकङ सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । समूहमा भारत, बङ्गलादेश र हङकङ छन् भने समूह ‘ए’ मा ओमान, पाकिस्तान श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ । नेपालले कात्तिक ३० गते हङकङसँग तथा मङ्सिर २ गते बङ्गलादेशसँग खेल्नेछ । (रासस)

Featured