काठमाडौं, कात्तिक २५–प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक संसदीय समितिको बैठकमा सहभागि हुने भएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको हो । उनी प्रधानमन्त्री निर्वा्चित भएपछि पहिलो पटक संसदीय समितिमा सहभागि हुन लागेका हुन् । यसअघि विभिन्न समितिले प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि बोलाएपनि सहभागि भएका थिएनन् ।
भारतले नेपाली भूमि समेटेर हालै सार्वजनिक गरेको राजनीितक नक्साबारे छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाएको हो । समितिले प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा र भूमि सुधारमन्त्री पदमा अर्याललाई पनि बैठकमा बोलाएको छ। समिति सभापति शशि श्रेष्ठले भनिन्, ‘यो (सीमा) संवेदनशील विषय भएकाले प्रधानमन्त्रीलाई बोलाइएको हो।’
भारतीय नक्साप्रति नेपाल सरकार, प्रमुख राजनीतिक दल र नागरिक समाजले आपत्ति जनाइसकेका छन् । प्रधानमन्त्रीले नक्साबारे छलफल गर्न शनिबार सर्वपक्षीय बैठक बोलाएका थिए ।
प्रतिक्रिया दिनुहोस