खेलकुद विदेश

लिभरपुल फराकिलो अग्रता बनाउँदै, साविक विजेता सिटी स्तब्ध

एजेन्सी, कात्तिक २५–इंग्लिस प्रिमियर लिगको जारी सिजनमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ । गएराति भएको खेलमा लिभरपुलले साबिक विजेता म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको हो । साबिक उपविजेता लिभरपुलले घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमा नै फाबिन्होको गोलमार्फत अग्रता बनाएको थियो । खेलको १३ औं मिनेटमा मोहम्मद सालहाले अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २–० को अग्रता लिएको लिभरपुलका लागि ५१ औं मिनेटमा सादियो मानेले तेस्रो गोल गरे । लिभरपुलका सामू कमजोर देखिएको म्यान्चेस्टर सिटीले गोलका केही राम्रा अवसर खेर फालेको थियो । सिटीका लागि बर्नार्डो सिल्भाले ७८ औं मिनेटमा एक गोल फर्काएपनि जितका लागि पर्याप्त भएन । पराजयपछि म्यानचेस्टर सिटीले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । १२ खेलबाट २५ अंक जोडेको म्यान्चेस्टर सिटी लिगको चौथो स्थानमा रहेको छ । समान खेलबाट २६ अंक जोडेको लेस्टर सिटी र चेल्सी दोस्रो र तेस्रो स्थानमा छन् ।

Featured