देश

कांग्रेसको चुनावी संयोजकमा महामन्त्री खड्का

काठमाडौं, कात्तिक २५–१४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्कालाई चुनावी संयोजक तोकेको छ । कांग्रेसले उपनिर्वाचनको चुनावी अभियानलाई सशक्त बनाउन भन्दै महामन्त्री खड्कालाई पार्टीका तर्फबाट संयोजनको जिम्मा दिएको हो । योसँगै उपनिर्वाचन हुने जिल्लाले केन्द्रमा महामन्त्री खड्कासँगको संयोजनमा जिल्ला जिल्लामा चुनावी रणनीति बनाउनेछ ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा शनिबार र आइतबार बसेको पदाधिकारी बैठकले उपनिर्वाचनलाई लक्षित गरेर पदाधिकारीमध्येबाट नै चुनावी संयोजनको जिम्मा दिने निर्णय गरेको थियो । महामन्त्री खड्काले पार्टीले जिल्ला जिल्लामा निर्वाचनलाई लक्षित गरेर प्रचार समिति तथा उपसमितिहरू बनाएको र उम्मेदवारसहित घरदैलो कार्यक्रमसमेत सुरु भइसकेको बताए ।

‘उपनिर्वाचन हुने जिल्लामा प्रचार प्रसार समिति तथा उपसमितिहरू गठन गरेर उम्मेदवारसहित घरदैलो अभियान सुरु भइसकेको छ, चुनावी अभियानमा सिंगो पार्टी होमिसकेको छ, अब केन्द्रबाट प्रतिनिधि तोकेर पठाइन्छ,’ महामन्त्री खड्काले भने । कांग्रेसले उपनिर्वाचन हुने जिल्लामा जिल्लासँगको समन्वयमार्फत आवश्यकताअनुसार शीर्ष नेताहरूलाई समेत जिल्ला उतार्ने रणनीति बनाएको छ । कांग्रेसले सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई उपनिर्वाचन हुने जिल्लामा प्रचारप्रसार तथा निर्वाचन लक्षित सबै कार्यक्रममा सहभागी हुन निर्देशनसमेत दिइसकेको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured