देश

‘जुवाडे’ अस्पतालमा

काठमाडौं, कात्तिक २५–जुवा खेलेको आरोपमा कात्तिक ९ गते महाराजगन्जस्थित एक घरबाट समातिएका ‘जुवाडे’ मा स्वास्थ्य समस्या देखिएपछि उनीहरुमाथि कारबाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ। तिहारको बेला महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले २५ जनालाई एउटै घरबाट पक्राउ गरेको थियो।

उनीहरु बिरामी परेपछि प्रहरीले अस्पताल लैजाने र ल्याउने गरेको छ। केही बिरामीको अवस्था गम्भीर देखिएकाले अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना भएकाले कारबाही छल्न खोजेको चर्चा चलेपछि प्रहरीले त्यसतर्फ चासो दिएको छ। उनीहरुमाथि अनुसन्धानका लागि वृत्तले आइतबारै जिल्ला अदालत काठमाडौंबाट थप दुई दिनको म्याद पाएको छ।

दसैं तिहारका बेला प्रहरीले जुवा खेलिरहेका ६ सयजनालाई पक्राउ गरेको थियो। उनीहरुबाट ३ करोड ३० लाख १२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सामान्य जुवाडेलाई कारबाही गरेर छाडिसकेको छ। मोटो रकमसहित पक्राउ परेका केहीले कारबाही छल्न स्वास्थ्य समस्या देखाउने गरेको प्रहरीले बताउँदै आएको छ। मोटो रकमसहित पक्राउ परेका २५ जनामध्ये केही सातायता ह्याम्स हस्पिटलमा उपचाररत छन्।

मोटो रकमसहित पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, पवित्रकुमार कार्की, बलराम सापकोटा (बले), सोहेल कार्की, पवनकुमार गुप्ता, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, शम्भुकुमार बुढाथोकी, रञ्जन राजवंशी र मुकुन्द बस्नेतको स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको छ। हस्पिटलमा उपचारत केहीले कारबाही छल्न त्यसो गरेको शंका भएपछि प्रहरीले अस्पतालसँग पनि सोधपुछ गरेको छ। ‘केहीले कारबाही छल्न त्यसो गरेको भेटियो भने निको भएपछि कारबाही गर्छौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का एसएसपी श्याम ज्ञवालीले भने। उनले केही दिन अस्पतालमा बसे पनि निको भएपछि तोकिएबमोजिम थुनामा राखिने बताए। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured