देश

दूतावास भवन निर्माण अभियानमा सरकार

काठमाडौं, कात्तिक २५–परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगलाई आफ्नै घरजग्गामा स्थापना गर्ने अभियान थालेको छ । मन्त्रालयले केही देशमा आफ्नै जग्गासहितको घरमा नियोग सञ्चालन पनि गरिसकेको छ । मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले भने, ‘अमेरिकामा गत वर्षदेखि नै आफ्नै भवनमा राजदूतावास सञ्चालन गरिसक्यौं, अन्य मुलुकमा जग्गा भएका ठाउँमा घर बनाउने र जग्गा नभएका ठाउँमा जग्गा किन्ने प्रक्रिया सुरु गरेका छौं ।’

विदेशी भूमिमा आफ्नै भौतिक संरचना हुँदा नेपालको कूटनीतिक संस्थाको पूर्वाधार आत्मनिर्भरताको बाटोमा अग्रसर भएको उनी बताउँछन् । अमेरिकाको वासिङ्टन डीसीमा नेपालले आफ्नै घर किनेर दूतावास सञ्चालनमा ल्याएको हो । त्यस्तै थाइल्यान्डको बैंकमा समेत नेपालको आफ्नै घरमा दूतावास बसेको छ । चीनको स्वशासित क्षेत्र ल्हासामा यसअघि नै घर बनाएर महावाणिज्य दूतावास सञ्चालन भइरहेको छ ।

जग्गा भएको स्थान साउदी अरबको रियाद, भारतको नयाँदिल्ली, पाकिस्तानको इस्लामाबाद, श्रीलंकाको कोलम्बो, अस्टे«लियाको क्यानबेरा, बंगलादेशको ढाकामा सरकारको नीतिअनुसार घर बनाउन मन्त्रालयले ताकेता गरिरहेको छ । सार्क क्षेत्रका छिमेकी मुलुकमा नेपालको आफ्नै अचल सम्पत्ति र घरजग्गा नभएको अवस्थामा कूटनीतिक क्षेत्र कमजोर देखिने गरेको थियो । यसले परराष्ट्रले गर्न खोजेका विविध प्रवद्र्धनात्मक काममा समेत अवरोध सिर्जना भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । मन्त्रालयका अनुसार भाडाको घरमा आफूले चाहेअनुसार उपयोग गर्न, साधनस्रोत परिचालन गर्न तथा सभा सम्मेलन गर्दा नेपालका दूतावासले विविध अप्ठ्यारा खेपिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured