देश

सभामुख निर्वाचनका ‘जटिलता’

काठमाडौं, कात्तिक २५–प्रतिनिधिसभा नियमावलीमा सभामुखले बैठकको आरम्भ र अन्त्य गर्ने व्यवस्था छ। नियमावलीको यो प्रावधानले आगामी अधिवेशनको अध्यक्षता उपसभामुखले गर्न पाउने कि नपाउने भन्ने ‘जटिलता’ उत्पन्न हुने देखिन्छ। सभामुख र उपसभामुख चयन नभएको अवस्थामा ज्येष्ठ सदस्यले भने बैठकको अध्यक्षता गर्ने नियमावलीमा स्पष्ट व्यवस्था छ। यौन दुर्व्यवहारको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि संसद् सचिवालयले नयाँ सभामुख निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ।

संसद् बैठकले मात्र सभामुख चयन गर्ने भएकाले उक्त बैठकको अध्यक्षता उपसभामुखले गर्ने कि नगर्ने भन्ने जटिलता देखिन्छ। प्रतिनिधिसभा नियमावलीमा बैठक सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ। नियमावलीको नियम ६ को उपनियम ९४० मा भनिएको छ, ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ।’ सुवास नेम्बाङ सभामुख बनेदेखि प्रतिनिधिसभाको प्रारम्भ र अन्त्य सभामुखबाट मात्र गर्ने प्रचलन स्थापित छ। सभामुखले प्रारम्भ गरेर लामो समय बैठक चल्ने अवस्था भए बीचमा उपसभामुखलाई अध्यक्षताको (पालो) दिने गरिन्थ्यो। मूल कार्यसूचीलाई निर्णयार्थ पेस गर्नेदेखि स्थगनसम्म सभामुखले नै बैठकको अध्यक्षता गर्ने चलन छ।

नियमावलीले पनि सभामुखले नै बैठकको प्रारम्भ र स्थगन गर्ने स्पष्ट व्यवस्था गरेकाले अबको बैठकको प्रारम्भ उपसभामुखले गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न उठ्न सक्छ। सभामुख नभएको अवस्थामा सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्न पाउने तर्क पनि छन्। तर, सभामुखबाट महराले राजीनामा दिएपछि उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले सभामुखका सबै अधिकार प्रयोग गरेकी छैनन्। उपसभामुख तुम्बाहाम्फेले अघिल्लो अधिवेशनबाट पारित भएका विधेयक प्रमाणित गरेकी छैनन्। अधिवेशनको अन्तिम दिन हतार हतार पारित गरिएका ५ वटा विधेयक प्रमाणित हुन बाँकी छन्। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured