देश

उदयपुरमा गाई काटेको आशंकामा एक जना पक्राउ, डेढ केजी सुकुटी बरामद

काठमाडौं, कात्तिक २४–उदयपुरको बेलका नगरपालिकामा गाई काटेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलका–४ गुरुङ चौरीका ४० वर्षीय राजकुमार तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले उनको घरबाट करिब डेढ केजी सुकुटी पनि बरामद गरेको छ । यद्यपि, बरामद गरिएको सुकुटी गाईको हो वा होइन भन्ने कुरा पुष्टि हुने बाँकी छ ।

२१ कात्तिक राति गाई घरतिर लाँदै गरेको देखेका सोही ठाउँका दुई जनाले दिएको सूचनाका आधारमा तामाङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । साहले भने, ‘बेलका–४ कै पुनाङ्गे राई र खवाली राईले २१ गते राति तामाङले गाई तानेर लाँदै गरेको देखेका रहेछन्, त्यसको पर्सिपल्ट घरबाट सुकुटी गन्हाएको भन्दै उनीहरूले प्रहरीलाई दिएको सूचनाका आधारमा हामीले सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएका हौं ।’

बरामद गरिएको सुकुटी परीक्षणका लागि जिल्ला सदरमुकाम गाइघाटस्थित पशु कार्यालयमा पठाइने र रिपोर्ट आएपछि कारबाही अघि बढाउने प्रहरी निरीक्षक साहले बताए । इलाका प्रहरी कार्यालय रामपुरमा राखिएका तामाङलाई सामान्य सोधपुछपछि छोड्ने तयारी प्रहरीले गरेको छ ।

Featured