देश

भारतीय नक्सा कुनै हालतमा मान्य छैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, कात्तिक २४–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएकाले भारतको नयाँ नक्सा कुनै हालतमा मान्य नहुने बताएका छन् । आइतबार अनेरास्ववियुका नेताहरुसँग मन्त्रालयमा ज्ञवालीले भारतले बलमिच्याइँ गरेको बताए । ‘यसअघि भारतले आफैं उक्त क्षेत्रलाई विवादित भन्थ्यो,’ मन्त्री ज्ञवालीले भने, ‘अहिले नक्सामा एकलौटी ढंगले सोही क्षेत्रलाई समावेश गर्नु बलमिच्याँइ हो । यो कुरा नेपाललाई स्वीकार्य छैन ।’

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङको नेतृत्वमा गएको टोलीले कालापानी, लिपुलेकसहित भारतले मिचेका भूमि फिर्ताका लागि कुटनीतिक पहलको माग गर्दै मन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको थियो । कालापानीबाट भारतीय सेना हट्नुपर्ने, भारतसँगका सीमा विवाद समाधान हुनुपर्ने, सीमामा नेपाली सुरक्षाकर्मी राख्नुपर्ने, इपिजी प्रतिवेदन भारतले बुझ्ने वातावरण बनाउनुपर्नेलगायत ५ बुँदे माग ज्ञापन पत्रमा राखिएको छ । यस्तै नक्सा नसच्याएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी पनि मन्त्रीलाई दिइएको अनेरास्ववियुका नेता आरसी लामिछानेले बताए ।

विद्यार्थी नेताहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद नेपालको भएको र नक्सा कुनै हालतमा मान्य नहुने स्पष्ट पारे । उनले तथ्य र प्रमाणका आधारमा अब निर्णायक वार्ता गरी समस्या समाधान गरिने उनले बताए ।

Featured