खेलकुद विदेश

चेल्सीको कीर्तिमानी जित, लेस्टरले आर्सनललाई हरायो

एजेन्सी, कात्तिक २४–इंग्लिस प्रिमियर लिगमा चेल्सीले लगातार जितको यात्रालाई निरन्तरता दिएको छ । लिगअन्तर्गत गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले हराउँदै चेल्सीले लगातार छैठौं जित निकालेको हो । सिजनको सुरुवाती चरणमा खराब लयमा रहेको चेल्सीले पछिल्ला खेलमा सुधारिएको प्रदर्शन गरिरहेको छ । सन् २०१६–१७ को सिजनमा च्याम्पियन बन्दा लगातार जित निकालेको थियो । त्यसपछि चेल्सीले पहिलो पटक ६ खेलसम्म लगातार जित हात पारेको हो ।

चेल्सीका लागि खेलको ५२ औं मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै अग्रता दिलाए भने ७९ आंै मिनेटमा क्रिष्टियन पुलिसकले गोल गर्दै जित सुनिश्चित गरे । जितपछि १२ खेलबाट २६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा पुगेको छ ।गएराति नै भएको खेलमा आर्सनललाई २–० ले हराएको लेस्टर दोस्रो स्थानमा छ । लेस्टरको जितमा जेमी भार्डी र म्याडिसनले एक एक गोल गरे ।

चेल्सी र लेस्टरको समान २६ अंक भएपनि गोल अन्तरका आधारमा लेस्टर दोस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको २५ अंक छ । सिटीले आइतबारराति लिग लिडर लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ । लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा बर्नलीले वेष्ट ह्यामलाई ३–० तथा एभर्टनले साउथह्याम्पटनलार्य २–१ ले पराजित गरेको छ भने टोटनह्याम र शेफिल्ड युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Featured