देश

सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

काठमाडौं, कात्तिक २४–सरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो । स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ । यसमध्ये केन्द्रबाट नौ करोड २७ लाख रुपियाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिए ।

यसबाहेक संघीय सांसद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँ पनि सो आयोजनालाई उपलब्ध गराएका थिए । २०६९ सालदेखि बनाउने पहल हुँदै आएको सो आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो ।

२२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने गरी बनेको सो आयोजनाबाट अहिले ११ सय घरधुरीमा विद्युत् पुर्याइएको छ । सर्वसाधारणसहित ५० भन्दा बढी ढुङ्गाखानी, २५ फर्निचर उद्योगले विद्युत् सेवा पाएका छन् । जनताको जीवनस्तर सुधार हुने र आर्थिक उपार्जन बढाउने गरी आयोजनाको विद्युत् खपत हुन थालेको केन्द्रका जीविकोपार्जन विज्ञ सुवास कुँवरले बताए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured