देश

प्रधानमन्त्री तहबाटै समाधान खोज्न सर्वदलीय सुझाव

काठमाडौं, कात्तिक २४–प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता र संवाद गरी सीमा विवाद टुग्याउन सरकारलाई सुझाएका छन्। भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो देशभित्र समेटेपछि प्रधानमन्त्रीले शनिबार सर्वदलीय बैठक बोलाएका थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बसेको बैठकमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधि, पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूले सीमा विवादलाई प्रधानमन्त्री तहकै वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिएका हुन्। सुस्ता र कालापानीको सीमा विवाद सचिवस्तरीय संयन्त्रबाट टुंगो नलाग्ने बताउँदै सहभागीहरूले भने, ‘प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीसँग वार्ता गरी राजनीतिक तहको आयोग गठन गरेर कूटनीतिक तवरबाट विवाद मिलाउनुपर्छ।’

अतिक्रमित भूमि फिर्ता लिन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउन तत्काल प्रभावकारी पहल थाल्न सरकारलाई सहभागी दलका नेताहरूले आग्रह गरेका छन्। ‘आफ्नो भूभागको सुरक्षा र संरक्षण गर्न नेपाल प्रतिबद्ध छ,’ सहभागीहरूले प्रधानमन्त्रीलाई भने, ‘सरकारले पहल थालोस्, हामी साथमा छौं।’ यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured