मनोरंजन

मखनाको शब्दले गर्दा यो यो हनी सिंह तनाबमा

एजेन्सी, असार २५ ‘यो यो हनी सिंह’ को नामले परिचित भारतीय र्‍याप गायक हनी सिंहको पछिल्लो एउटा गीतले उनलाई तनावमा पारेको छ। उक्त गीत हो ‘मखना’ जसमा केही शब्दहरु आपत्तिजनक रहेको भन्दै पन्जाब राज्यका महिला आयोगले उनीविरुद्ध प्रहरीमा उजुकी दिएको छ।

पन्जाब राज्यका महिला आयोगकी अध्यक्ष मनीषा गुलाटीले भनेकी छन्, ‘हनी सिंह गीतमै बलात्कारीजस्ता शब्द प्रयोग गर्छन् र कहिले महिलाहरूको अस्मितामाथि नै प्रश्नचिहृन खडा गर्ने शब्दहरुको प्रयोग गरी गीत गाउँछन् । यदि उनी यस्ता शब्द रचना प्रयोग गर्न रोक्दैनन् भने उनी यस्ता शब्द स्वीकार्य हुने जुनकुनै विदेशी भूमिमा गाएर गाउन ।’ उनको गीतमा अश्लीलता प्रस्तुत गरेको आरोप लगाउँदै ‘यो यो हनी सिंह’ लाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छिन्।

मखना गीत यतिबेला सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेको छ र भिडियो पनि आपत्तिजनक छ,’ आयोगकी अध्यक्ष गुलाटीले भनेकी छन्, ‘त्यसैले पनि हामीले यस विषयलाई गम्भीरतापूर्वक लिँदै पुलिसलाई गायक र उक्त गीत बजारमा ल्याउने कम्पनीविरुद्ध कारबाहीका लागि जाहेरी दर्ता गराएका हौं । यो गीतमा महिलालाई होच्याउने र आपत्तिजनक, अश्लील शब्द प्रयोग गरेको अनि  भविष्यमा यस्तो शब्द प्रयोग हुन नदिन आवश्यक कदम पनि चालियोस् भन्ने महिला आयोग चाहन्छ ।’ हनी सिंहले उक्त गीत ‘टी सिरिज’ मार्फत बजारमा ल्याएका हुन् ।

त्यसो त पछिल्लो समय ‘मखना’ मार्फत सांगीतिक क्षेत्रमा ‘कमब्याक’ गरेका हनी सिंहलाई उनका फ्यानहरुले भने गीतलाई रुचाइदिएका छन् । गीत गतवर्षको डिसेम्बरमा रिलिज गरिएको थियो । लागू पदार्थको कुलतमा फसेका उनले पहिलोपटक असफलताको पीडा पनि सामना गर्नुपरेको थियो । यसको कारणले गर्दा उनि डिप्रेसनमा जानुका साथै पुनः सांगीतिक क्षेत्रमा फर्कन संघर्ष गरिरहेका थिए। तर सबै असफलता पछि पार्दै ‘मखना’ ले राहत दिएको थियो । तर, त्यो राहत पनि महिला आयोगको प्रहरीमा जाहेरी पछि धेरै समय कायम रहेन ।