देश

कान्ति बाल अस्पतालका लागि अक्सिजन प्लान्ट किन्न महानगरको सहयोग

काठमाडौं, कात्तिक २३–काठमाडौँ महानगरपालिकाले कान्तिबाल अस्पताललाई अक्सिजन प्लान्ट खरिद गर्न आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा. डा. आरपी विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हस्ताक्षरअनुरूपको काम छिटो गर्न आग्रह गर्दै आफ्नातर्फबाट अस्पताललाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘अस्पतालबाट गरिब र निमुखा जनताले सहजै सेवा प्राप्त गर्ने वातावरण तपाईंहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छौँ ।’

हस्ताक्षर गरेपछि प्रमुख शाक्यले यस कार्यका लागि नगरसभाबाट २ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउँदै काम अघि बढाउँदा आवश्यक परे अरु सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । प्रमुख शाक्यले कामपाको पूर्वाधार र सम्पदाका क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेकाले उक्त सहयोग पनि त्यसैको निरन्तरता भएको बताए ।

निर्देशक विच्छाले भूकम्पका कारण क्षति पुगेर रातो स्टिकर टाँसेको भवनबाट बिरामीको उपचार गर्नुपरेको भन्दै अक्सिजनमा मात्रै वार्षिक करिब ६३ लाख रुपैयाँ खर्च हुने जानकारी गराए । विसं २०५२ को दरबन्दीले अहिलेसम्म चलाउनुपरेको, बजेट थोरै भएको, कर्मचारीको तबलका लागि आउने बजेटसमेत घटाएर पठाएको जस्ता गुनासो निर्देशक विच्छाले गरेपछि रक्षामन्त्री पोखरेलले ती समस्या समाधानमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे । (रासस)

Featured