देश

९५ किलोमिटर यात्रा गर्दा ३५ सय

सुर्खेत, कात्तिक २३–हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हो । त्यसैले धेरैलाई लाग्न सक्छ, हुम्लामा गाडी चल्दैनन् । तर, यसो होइन । हुम्लामा पनि गाडी चल्ने गरेका छन् । चीनको सिमाना हिल्सादेखि सिमीकोटसम्मको ९५ किलोमिटरसम्म सवारी साधन चल्छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिए पनि स्थानीय स्तरमा बनाइएका ८ मिटर चौडा सडकमा अहिले २० वटा ट्रक चलिरहेका छन् ।

ती ट्रकले सामानसँगै यात्रु पनि बोक्छन् । हिल्सादेखि याल्बाङ र सल्ली हुँदै लाङ्दुबाट सिमिकोटसम्म ट्रक तथा टिपरमा चढेर जाने यात्रुले ३५ सय रुपैयाँ तिर्नुपर्छ । हिल्साबाट सिमकोटसम्म टिपरबाट यात्रा गर्दा आफूले ३५ सय भाडा तिरेको स्थानीय रामबहादुर बोहोराले बताए ।

हिल्सा–सिमिकोट सडकखण्डको ९५ किलोमिटर दुरीमा आठ मिटर चौडा मोटर बाटोको ट्रयाक खुलाइएकाले सवारीसाधन चलिरहेको सिमिकोट–हिल्सा सडक आयोजनाका सव–इन्जिनियर वीरेन्द्रबहादुर शाहीले बताए । ‘हिल्सा–तुम्कोट सडक खण्डमा नियमित सवारी साधन चल्ने गरेका छन्,’ उनले भने, ‘हुम्लामा गाडी चल्छ भनेर कसैले पत्याउँदैनन् ।’

यो खण्डमा ट्रक र टिपर चलेकाले सिमिकोट र हिल्सामा बजार केन्द्र नै स्थापना भएको स्थानीय ल्यारकल लामा बताए । उनले भने, ‘सिमकोटबाट हिल्सा पुग्न चार दिनको पैदल यात्रा गर्नुपर्थ्यो । तर, गाडी चढेर अहिले चार घण्टामा हिल्सामा व्यापार गर्न जान सकिन्छ ।’ हिल्सा–तुम्कोट सडकखण्डमा ७५ वटा होटल र पसल स्थापना भएका र यसबाट डेढ सय मानिसले रोजगारी पाएको स्थानीय तकबीर बुढाले बताए ।

Featured