देश

अयोध्याबारे फैसलालाई लिएर जनकपुरमा खुसीयाली

जनकपुर, कात्तिक २३–भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिनमा रामजन्मभूमि न्यासको हक रहने फैसला गरेपछि जनकपुरधाममा खुसीयाली मनाइएको छ । जानकी मन्दिरमा साधुसन्त, चोक तथा घरघरमा सर्वसाधरणले मिठाइ बाँडेर आपसमा खुसीयाली मनाएका हुन् । अयोध्या विवादमा भारतको सर्वोच्चले सुनाएको फैसला जनकपुरधामको लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

उनका अनुसार, जानकी मन्दिरमा आज दीपावली पनि गरिने छ । गौसंरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले जनकपुरवासीको अपेक्षा पूरा भएकाले उत्सव मनाएको बताए । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)का महासचिव राजीव झाले अयोध्यामा भव्य राम मन्दिर बन्ने निश्चित भएकाले जनकपुरवासी खुसी भएको बताए । ‘अहिले जनकपुरवासीले घरघरमा खुसी मनाइरहेका छन्,’ उनले भने, ‘हाम्रो लागि पनि यो ऐतिहासिक दिन हो । रामललाको अयोध्यामा भव्य मन्दिर बनोस् भन्ने हाम्रो चहाना हो ।’

जनकपुरधामको बसपार्कमा पनि बसका मालिक, चालक, सहचालकलगायतले आपसमा खुसी साटासाट गरेका छन् । जनकपुरधाम अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले भने, ‘अयोध्यामा रामको मन्दिर बन्ने कुरा हाम्रो लागि खुसीको कुरा हो, त्यसैले खुसी मनाएका हौं ।’ जनकपुरधामलाई भगवान रामको ससुराली मानिन्छ । अयोध्याको जमिनमा मन्दिर वा मस्जिद भन्ने विवादमा सर्वोच्चको फैसलासँगै अब त्यहाँ राम मन्दिर बन्ने निश्चित भएको छ । अहिलेसम्म त्यहाँ टेन्टमा भगवान रामको मूर्ति राखेर पूजा भइरहेको छ ।

Featured