देश

बजेट खर्च गर्न नसकेपछि आन्तरिक ऋण तिर्दैै सरकार

काठमाडौं, कात्तिक २३–सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आशाअनुरुप बजेट खर्च गर्न नसकेपछि बचेको पैसाले आन्तरिक ऋण तिर्न थालेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त जानकारीअनुसार पहिलो तीन महिनामा मात्र ११ अर्ब ४४ करोड रुपैयाँ आन्तरिक ऋण तिरेको छ । सरकारले अघिल्लो वर्षहरूमा लिएको ट्रेजरी बिल्सको पटक–पटक नवीकरणपछि पनि समायवधि सकिएपछि सरकारले आन्तरिक ऋण भुक्तानीको नीति लिएको हो । साउन महिनामा मात्र चार किस्ता गरी आन्तरिक ऋणको रकम भुक्तानी गरिएको हो ।

चालू आर्थिक वर्ष २०७६र७७ मा कुल १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा पहिलो त्रैमासिक अवधिमा नयाँ ऋण उठाइएको छैन । कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको १४ प्रतिशत रकम पनि खर्च गर्न सकेको छैन । महालेखा नियन्त्रकको कार्यालायका अनुसार कात्तिक २२ बजेसम्म भएको कुल २ खर्ब ८ अर्बमध्ये चालूतर्फ १ खर्ब ८३ अर्ब, पुँजीगततर्फ २२ अर्ब ५४ करोड, वित्तीय व्यवस्थातर्फ ४ अर्ब २७ करोड रूपैयाँ छ । वित्तीय व्यवस्थातर्फका बजेटबाट आन्तरिक र बाह्य ऋणका साँवाब्याज भुक्तानीसँगै सार्वजनिक संस्थानहरूको लगानी व्यवस्थापन गरिन्छ ।

चालूतर्फ कुल वार्षिक लक्ष्यको १९ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ केबल साढे ५ प्रतिशतमात्र खर्च भएको छ । खर्च घटेपछि राष्ट्र बैंकमा सरकारका खातामा बचत पनि बढेको छ । राजस्वतर्फ कात्तिक २२ गतेसम्म २ खर्ब २२ अर्ब रूपैयाँ उठेको छ, यो वार्षिक लक्ष्यको २० प्रतिशत हो । राजस्व चौमासिक लक्ष्यभन्दा निकै कम उठेको अर्थमन्त्रालयको समीक्षाले देखाएको छ । पुँजीगत वस्तुको आयात घटेसँगै त्यसले भन्सार, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कको असुलीमा कमी ल्याएको हो ।

ऋण व्यवस्थापन तालिका मिलाउनका लागि नेपाल राष्ट्र बैंकले अवधि सकिएका पुरानै ट्रेजरी बिल्सहरूको नवीकरणका लागि जारी गरिरहेको छ । नवीकरणका लागि जारी गरिएका ट्रेजरी बिल्समा समेत पाँच गुणा अधिकसम्म माग हुने गरेको राष्ट्र बैंकले जनाएको छ । यसले बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त लगानीयोग्य पुँजी रहेको संकेत गर्छ । कात्तिक दोस्रो सातासम्म बैंकहरूले ट्रेजरी बिल्सका लागि प्रस्तावित गरेको औसत बट्टादर ४ दशमलव ३९ प्रतिशत थियो । ट्रेजरी बिल्समा दिइने ब्याजदर अर्थात् बट्टादरले वित्त बजारको निक्षेपको ब्याजदरलाई पनि प्रभावित तुल्याउँछ । अहिले औसत ब्याजदर बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Featured