देश

विद्युत् र टेलिकमबीच समन्वय नहुँदा सडक कालोपत्रे गर्न ढिलाइ

विराटनगर, कात्तिक २३–नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिकाअन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन् । सडक निर्माणका क्रममा प्राधिकरणले बिजुलीका पुराना खम्बा परिवर्तन गरी नयाँ अग्ला खम्बा गाड्नुपर्ने र सोही खम्बामा बिजुलीका तारसँगै टेलिकमले पनि आफ्ना तार विस्तार गर्नुपर्ने हुन्छ । सडक निर्माणमा ठेकेदार तयारी अवस्थामा भए पनि विद्युत् र टेलिकमले पोल र तार व्यवस्थापन नगरिदिँदा सडक कालोपत्र गर्न ढिलाइ भएको महानगरपालिकाले जनाएको छ ।

विद्युतका कर्मचारी आउँदा टेलिमका कर्मचारी नआउने र टेलिकमका कर्मचारी आउँदा विद्युतका कर्मचारी नआउने प्रवृत्तिले गर्दा काममा प्रगति हासिल हुन सकेको छैन । विगत केही दिनदेखि विराटनगरका बजारभित्र र बाहिरका सबै सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने महानगरपालिकाका प्रमुख भीम पराजुलीको दसैं र तिहारअगावै निर्माणकार्य सम्पन्न गरी नगरलाई धुलोमुक्त सहर बनाउने घोषणालाई दुवै कार्यालयले लत्याएका छन् ।

समयमा काम सम्पन्न नहुँदा विराटनगरवासीबाट जनप्रतिनिधि आलोचित भइरहेका छन् भने विद्युत् प्राधिकरण र टेलिकमका कर्मचारीको आपसी द्वन्द्वका कारण विकास निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ । विगतदेखि सहरी क्षेत्रमा रहेका बिजुलीका खम्बा होचा र त्यसमा पनि टेलिफोनका तारसँगै विभिन्न केबलका तार जोडिएकाले सडकहरू कुरुप देखिन थालेका छन् । (रासस)

Featured