देश

मानव साङ्लोले घेरियो टुँडिखेल

काठमाडौं, कात्तिक २३–निरन्तर अतिक्रमणको चपेटामा पर्दै गएको टुँडिखेल संरक्षणको माग गर्दै नागरिकस्तरबाट विरोध सुरु भएको छ । आज बिहान मानव साङ्लो बनाएर टुँडिखेल घेरिएको हो। विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको हो । मानव साङ्लोमा ३ हजार भन्दा बढी सहभागी भएको अभियानका संयोजक विजय श्रेष्ठले बताए ।

‘प्राकृतिक र सांस्कृतिक महत्वका साथै राजनीतिक रुपमा इतिहास बोकेको टुँडिखेल सेना र सरकारको अतिक्रमणमा छ,’ संयोजक श्रेष्ठ भने, ‘अनधिकृत पसल संचालन, पार्किङ, बसपार्क र त्यहाँ गरिएको ढलानले टुँडिखेलको वास्तविक क्षेत्रफलसमेत खुम्चिदै गएको छ।’ साँस्कृतिक झाँकीसहित सुरु भएको अभियानमा नागरिक समाज, विद्यार्थी, कलाकार, राजनीतिक पार्टी र जनप्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।

कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेलको केही भाग निर्माण सामग्री राख्ने ठाउँ बनेको छ भने अस्थायी भौतिक संरचना निर्माण गरेर कामदारसमेत बस्ने गरेका छन् । त्यस्तै नेपाली सेनाले टुँडिखेलको आधा क्षेत्र लिएको छ । जहाँ सर्वसाधारणलाई प्रवेशमा रोक लगाइनुका साथै सेनाले पक्की संरचनासमेत बनाएको छ । खुल्लामञ्चभित्रै बसपार्क निर्माण भएको छ । दिनानुदिन टुँडिखेल अतिक्रमण हुँदैगएपछि नागरिकस्तरबाट विरोधस्वरुप अकुपाई टुँडिखेल अभियान सुरु भएको हो । तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।

Featured