देश राजनीति

राजपाको महाधिवेशन अलमलमा

काठमाडौं, कात्तिक २२–राष्ट्रिय जनता पार्टी (राजापा) नेपालको २८ देखि ३० कात्तिकमा हुने भनिएको महाधिवेशन नहुने भएको छ । बारम्बार महाधिवशेनको घोषणा गर्दै स्थगित हुँदै आए पनि राजपाले यस पटक महाधिवशेनको औपचारिक रूपमा स्थगित भने गरेको छैन । ७ वैशाख २०७४ सालमा छवटा मधेशकेन्द्रित दल मिलेर बनेको राजपाले पछिल्लो समय ७ देखि ९ वैशाखमा महाधिवेशनको मिति घोषणा गरेको थियो । एक वर्षअघिदेखि पार्टीको सदस्यता वितरण अभियान थालेको राजपाले सदस्यता वितरणको मिति गत वैशाख मसान्तमा टुंग्याउन निर्देशन दिएको थियो ।

प्रत्येक २ महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्दै आएको राजपामा पछिल्लो समय अर्को मधेशकेन्द्रित दल समाजवादी पार्टीसँग पार्टी एकता गर्ने वा नगर्ने भन्ने विषयले नयाँ विवाद देखिएको छ । पार्टी एकता हुने आशाले महाधिवेशनको तयारी पार्टी नेतृत्वले नगरे पनि एकताको बलियो आधार भने अझै देखिएको छैन । पार्टी गठन भएको अढाइ वर्षसम्म महाधिवेशन गर्न नसकेको राजपा अध्यक्ष मण्डलको ८ कात्तिकको बैठकले ५२ जिल्लामा पर्यवेक्षक खटाएको छ ।

५२ जिल्लामा पार्टी संगठन विस्तार गर्न सफल राजपाले ती पर्यवेक्षकलाई सबै जिल्लामा तदर्थ समिति गठन गर्ने अधिकार दिएको छ । ‘पर्यवेक्षकलाई सम्भव भएसम्म सर्वसम्मत र सम्भव नभए लोकतान्त्रिक विधिबाट भए पनि जिल्ला तदर्थ समिति बनाउने निर्देशन दिएका छौं’, पार्टी महामन्त्री केशव झाले भने ।

पार्टीले सबै जिल्लामा पर्यवेक्षक खटाएर पार्टीको जिल्ला तदर्थ समिति गठन हुन थाल्नु नै महाधिवेशन सुरू भएको मान्नुपर्ने महामन्त्री झाको दाबी छ । उनले जिल्ला तदर्थ समिति बनिसकेपछि महाधिवेशनको घोषणा हुनेछ । खटाइएका पर्यवेक्षकलाई भने महाधिवेशन नहुन्जेलसम्ममा सबै जिल्लाको तदर्थ समिति बनाइसक्न निर्देशन दिइएको छ । राजपा केन्द्रीय समिति बैठक एक वर्षदेखि बस्न सकेको छैन ।

Featured