देश

अर्थमन्त्री खतिवडा र यूएसएआईडीका एसिया ब्यूरो सहायकबीच भेटवार्ता

काठमाडौं, कात्तिक २१– यूएसएआईडीको एसिया ब्यूरोका सहायक प्रशासक ग्लोरिया डी स्टिल र अर्थमन्त्री डा. युवराज खतिवडाबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटमा अर्थमन्त्री खतिवडाले नेपालको विकासका विभिन्न क्षेत्रमा दशकौंदेखि यूएसएआईडीले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले नेपालको विकास प्रयासका लागि लामो समयदेखि यूएसएआईडीसँगको साझेदारीले थप निरन्तरता पाउने अपेक्षा गरे ।

अर्थमन्त्री खतिवडाले नेपाल सरकार सबै तहमा जवाफदेहिता, सार्वजनिक वित्तीय व्यवस्थापन (पीएफएम) मा पारदर्शिताका साथै विश्वसनीय बजेट प्रणालीमा केन्द्रित रहेको उल्लेख गरे । सहायक प्रशासक स्टिलले संघीयता कार्यान्वयनका साथै नेपालको सामाजिक(आर्थिक रूपान्तरणका लागि यूएसएआईडीको निरन्तर सहयोग रहने आश्वासन दिइन् ।

उनले विशेषगरी प्रादेशिक र स्थानीय स्तरमा अन्य विकास साझेदारहरूसँग मिलेर सरकारको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने युएसएआईडीको तयारी रहेको जानकारी गराइन् । सहायक प्रशासक स्टिलले वित्तीय संघीयता कार्यान्वयनमा नेपालको सफलताको सराहना गरिन् । बैठकमा अमेरिकी राजदूत रेन्डी बेरीले पनि नेपालको विकास प्रयासमा साझेदारीको महत्त्वबारे प्रकाश पारेका थिए ।

Featured