देश

म्याग्दीको स्वर्गद्वारीआश्रम आध्यात्मिक चिन्तन र प्रकृतिको अनुपम स्थान

गलेश्वर, कात्तिक २१–म्याग्दीको प्रमुख पर्यटकीयस्थलमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केमा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ । मालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केको स्वर्गद्वारी आश्रम आध्यात्मिक चिन्तनका लागि उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको धार्मिक विश्वास रहेको छ ।

प्राचीनकालमा विभिन्न ऋषि महर्षिले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशूली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशालालगायत केही संरचना निर्माण गरेको र अहिलेसम्म पनि ती संरचना रहेका स्वर्गद्वारी आश्रम शिव मन्दिरका पूजारी शिवप्रसाद पन्थीले बताए ।

पूजारी पन्थीका अनुसार प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर श्रीमद्भागवत् सप्ताह पाठ गर्नुभएको थियो । त्यसैगरी जन्मेको छैठौं दिनदेखि आमाको स्तनपान नगरेका हंशानन्द गिरीले तपस्या गरेको र त्यसै बेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भन्न थालिएको पूजारी पन्थीले बताए ।

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मेका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गरेका थिए । त्यसपछि यस क्षेत्रलाई स्वर्गद्वारी क्षेत्र भन्न थालिएको हो । स्वर्गद्वारी महाप्रभुपछि यहाँ अन्य धेरै ऋषि महात्माहरूले तपस्या गरेका थिए ।

१८ रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । पहाडको टुप्पोमा घना जंगलको बीचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथिलगायत हिमाल, दुई दर्जनभन्दा बढी गाउँहरु देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकका पहुँच भएकाले यातायातका साधनबाट पनि जान सकिन्छ ।

यहाँ रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाएका खराउ (काठका चप्पल), शिवलिंग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् । शिवजीको मन्दिरलाई हालसालै मात्र पुरानै संरचनामा पुनर्निर्माण गरिएको छ । यहाँ एउटा धर्मशाला रहेको छ भने सात वटा गाई पालिएको छ । मन्दिरमा बिहान(बेलुका गाईको दूधले अभिषेक हुने गर्दछ । पूजारीलाई तलब प्यूठानको स्वर्गद्वारी आश्रमले नै दिने गरेको छ । अत्यन्त मनमोहक र आत्मशुद्धिका लागि उपयुक्त स्थान हुँदाहुँदै पनि यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायले कुनै ठोस योजना बनाउन नसक्दा यहाँका सम्पदा ओझेलमा परेको स्थानीय शालिग्राम रिजालले बताए ।

व्यापक रूपमा प्रचारप्रसार गरी यस क्षेत्रको महत्व बुझाउन सक्ने हो भने यो क्षेत्र आध्यात्मिक खोज अनुसन्धानका लागि महत्वपूर्ण क्षेत्र हुने उनको भनाइ छ । यो क्षेत्रको संरक्षणका लागि घेराबार लगाउन र मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको अभाव रहेको बताइएको छ । (रासस)

Featured