खेलकुद देश

सागका खेलहरु कुन, कहिले ? यस्तो छ तालिका

पोखरा, कात्तिक २१–काठमाडौँ र पोखरामा सञ्चालन हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गतका खेलहरुको खेल तालिका सार्वजनिक भएको छ । विशेष उदघाटन मंसिर १५ गते हुने भए पनि केही खेलहरु भने यसअगावै सुरु हुने तालिकामा उल्लेख छ । प्रतियोगिताका २८ खेलमध्ये पोखरामा ९ खेल हुनेछन् । मंसिर १५ गते काठमाडौँ र पोखरामा एकैसाथ सागको विधिवत उद्घाटन गरिने कार्यक्रम छ ।

नेपालले पदकको आशा गरेको प्याराग्लाइडिङ प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म पोखरामा सञ्चालन हुने तालिकामा उल्लेख छ । तर ८ वटा पदक रहेको यो खेल हुने, नहुने भन्ने अझै टुंगो लागिसकेको छैन । राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलाम्पिक कमिटिले प्याराग्लाइडिङलाई पनि समावेश गर्न पहल भइरहेको बताएको छ । पदाधिकारीहरुका अनुसार नेपाललगायत दक्षिण एसियाली मुलुकमा खेलाडीहरु भए पनि आधिकारिक रुपमा संघ दर्ता नहुँदा समस्या उत्पन्न भएको हो।

ब्याडमिन्टनका खेलहरु मंसिर १५ गतेबाट पोखरा रंगशालाको कभर्ड हलमा हुने भएको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा मंसिर १६ गते महिला क्रिकेट सुरु हुने तालिकामा जनाइएको छ । आर्चरीको महिला र पुरुष दुवै इभेन्टका खेलहरु मंसिर १७ देखि सुरु हुनेछ । पोखरामा हुने सागअन्तर्गत महिला फुटबल मंसिर १९ बाट सुरू भएर समापन मंसिर २४ गते हुने तय गरिएको छ । ह्याण्डबल मंसिर १८ गतेबाट सुरू हुनेछ । दुई स्वर्ण पदकका लागि हुने यस खेलमा ६ राष्ट्रको सहभागिता छ ।

Featured