देश

जेलमा निःशुल्क खान र बस्न पाइने लोभमा चोरीधन्दा

सुर्खेत, कात्तिक २१–अपराध गरेपछि जेल पुगिन्छ । जेलमा धेरै दुःख पाइन्छ भन्ने डरले पनि मानिसहरू आपराधिक गतिविधिप्रति सर्तक हुन्छन् । तर, रुकुममा एक जना यस्ता चोर भेटिएका छन्, जो जेलमा निःशुल्क खान र बस्न पाइने लोभमा जेलबाट आएपछि पुनः चोरी गर्न थालेका छन्।

चोरी अभियोगमै तीन वर्ष कैद भुक्तान गरेर फर्किएका रुकुम पश्चिमका राजु परियार जेलमा बस्दा निःशुल्क खान र बस्न पाएको अनुभव लिएको भन्दै पुनः जेल जान चोरी कार्यमै संलग्न भएका छन् । उनलाई प्रहरीले पक्राउ गरेपछि भने यस्तो रहस्य खुलेको हो । जेलमा निशुल्क खान पाइने लोभमा चोरी गर्दै हिँडेका जिल्लाको मुसिकोट नगरपालिका–२, रातामाटाका राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारले जेलमा परे निःशुल्क खान, बस्न, पाइने भन्दै चोरी गर्दै हिँड्ने गरेको प्रहरी अनुन्धानबाट खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा परियारले जेलमा निःशुल्क खान र बस्न पाइने भन्दै चोरी गर्ने गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले बताए । ‘जेलमा परे निःशुल्क खान र बस्न पाइने भन्दै चोरी गर्ने गरेको रहेछ,’ उनले भने।

प्रहरीका अनुसार परियार यसअघि २३ कात्तिक २०७३ मा मुसिकोट– १ खलंगाको एक घरमा चोरी गरेको मुद्दामा तीन वर्ष कैद भुक्तानी गरी जेलबाट छुटेका थिए । जेलबाट छुटेका परियारले गत १६ कात्तिकमा रुकुम मुसिकोट नगरपालिका–१ खलङ्गा बजारमा मोबाइल पसलमा चोरी गरेका थिए । मोबाइल पसल चोरी गरेको आरोपमा पक्राउ परेपछि परियारले जेलमा बस्न पाइने भएकाले पुनः चोरी गरेको बयान दिएको प्रहरी प्रमुख खड्काले बताए ।

Featured