देश राजनीति

कास्कीमा २५ उम्मेदवार चुनावी मैदानमा, ११ जना स्वतन्त्र

पोखरा, कात्तिक २१–आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीबाट विभिन्न २५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की–२ को प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेतृत्व लिन २५ जनाले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनेमा विभिन्न राजनीतिक दलबाट १४ जना रहेका छन् भने स्वतन्त्र उम्मेदवार ११ जना रहेका छन् । दलहरूले बाजागाजासहित जुलुस लिएर नाम दर्ता गर्न गएका थिए । कास्कीमा हुने प्रतिनिधिसभा निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारबीच हुने देखिएको छ ।

उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । उनको उम्मेदवारीमा गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेशसभा सदस्य प्रभा कोइराला समर्थक छन् । निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले समर्थकसहित पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

नेकपाकी उम्मेदवार भट्टराईभन्दा अघि स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले मनोनयन दर्ता गराएका थिए । उनी संरक्षणकर्मी हुन् । उम्मेदवारी दर्तामा कुँवर पहिलो र विद्या दोस्रो भएका थिए । त्यसैगरी, नेपाली कांग्रेसको तर्फबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले उम्मेदवारी दर्ता गराएका थिए ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राप्रपा, राष्ट्रिय जनमोर्चा, विवेकशील पार्टी, साझापाटी, संघीय समाजवादी नेपाललगायतका दलहरूले उम्मेदवारी दर्ता गराएकोे मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की– २ मा ३२ मतदान स्थल र ८२ वटा मतदान केन्द्रबाट मतदान हुनेछ । पोखराका विभिन्न ११ वटा वडा पर्ने कास्की– २ मा गत निर्वाचनमा रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत र कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

तत्कालीन विवेकशील साझा पार्टी तेस्रो स्थानमा रहेको थियो । विवेकशीलका उम्मेदार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए । गण्डकी प्रदेशअन्तर्गत प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५ ठाउँमा उपनिर्वाचन हुँदैछ ।

Featured