देश

सुत्केरी ब्यथाले थलिएकी महिलाको उद्धार

सुर्खेत, कात्तिक २१–दुई दिनदेखि सुत्केरी ब्यथाले थलिएकी एक महिलाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पु¥याइएको छ । बुधबार सुत्केरी ब्यथा लागेकी रास्कोट नगरपालिका–१ की ३५ वर्षीया रन्ना शाहीलाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

बुधबार बिहानबाट सुत्केरी ब्यथा लागेको र स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए । ‘सुत्केरी ब्यथाले थलिएकी शाहीको यहाँ उपचार हुन सकेन,’ उनले भने, ‘बिहीबार दिउँसो ४ बजे थप उपचारका लागि सुर्खेत लगिएको छ ।’

सुत्केरी हुन नसक्दा शाहीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय तथा कर्णालीका मुख्यमन्त्रीको पहलमा उद्धार गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए । ‘शाहीको अवस्था गम्भीर भएको थाहा पाएपछि उद्धारका लागि मुख्यमन्त्रीले पहल गर्नुभएको हो,’ उनले भने, ‘अब शाहीको उपचार प्रदेश अस्पताल सुर्खेतमा हुनेछ ।’

Featured