देश

कास्कीमा गुटको अन्त्य भयो, अब चुनाव जित्छौंः नेता पौडेल

पोखरा, कात्तिक २१–आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीबाट विभिन्न दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उपनिर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन हुने एक मात्र क्षेत्र कास्की २ मा चुनाव लड्नका लागि नेकपा, समाजवादी, विवेकशील र नेपाली कांग्रेसलगायतका दलहरूले नारा जुलुससहित मनोनयन दर्ता गराएका छन् ।

यसै क्रममा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि कांग्रेसका उम्मेदवार खेमराज पौडेलले आफूले चुनाव जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए । उनले उम्मेदवारका आकांक्षीद्वय देवराज चालिसे र सोभियतबहादुर अधिकारीलाई दायाँ र बायाँ राखेर आफ्नो उम्मेदवारीसँगै कास्की कांग्रेसमा गुट उपगुटको अन्त्य भएको बताए । पौडेलले कांग्रेस अब जरैबाट आफ्नो अस्तित्व रक्षाका लागि एक भएर उठ्ने दाबी गरे ।

उनले अमेरिकी राष्ट्रपतिले जसरी नै आफूले चुनाव जित्नेसमेत दाबी गरे । ‘अमेरिकामा ट्रम्पले चुनाव जित्छन् भनेर कसले भन्या थियो । तर उनले चुनाव जिते,’ पौडेलले भने । ‘बेलायतमा कहिले कन्जरभेटिभ त कहिले अन्य पार्टीले चुनाव जितेको छ । यस्तै, यहाँ पनि तीन÷तीन पटक नेकपाले चुनाव जितेको ठाउँमा जनताले अहिले कांग्रेसलाई जिताउँछन् । हामी यसमा ढुक्क छौं ।’ उनले कास्की कांग्रेस अहिले एक ढिक्का भएकाले चुनाव जित्ने दाबी गरे ।

Featured