देश

सुदूरपश्चिम प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण

धनगढी, कात्तिक २१–नवनियुक्त सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिला पन्तले पदभार ग्रहण गरेकी छन् । आज धनगढीस्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख पन्तले पदभार ग्रहण गरेकी हुन् । प्रदेश प्रमुख पन्तलाई प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका मन्त्री लगायत उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए । उनलाई कार्यालय परिसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पणसमेत गरेको थियो ।

प्रदेश प्रमुख पन्त बुधवार साँझ धनगढी पुगेकी थिइन् । कार्यकक्षमा प्रवेश गरेर जिम्मेवारी बहन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रदेश प्रमुख पन्तले प्रदेशको विकासका लागि दलहरू र सबैको सुझावबाट अघि बढ्ने बताइन् । उनले नेपालको संविधानमा रहेर प्रदेशको हितमा काम गर्ने बताइन् । प्रदेशका जनताको सहयोगको अपेक्षासमेत आफूले गरेको पन्तको भनाइ छ ।

Featured