देश

सुर्खेतमा नेकपाको एकता टुंगियो

सुर्खेत, कात्तिक २१–सुर्खेत जिल्लाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकता प्रक्रियालाई टुङ्गो लगाएको छ । नौवटा स्थानीय तह रहेको सुर्खेतमा पाँचवटा तत्कालीन एमाले र चारवटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रको भाग लगाएर एकता प्रक्रिया टुङ्गो लगाएको हो ।

तत्कालीन एमालेको भागमा पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेंसी नगरपालिका, सिम्ता गाउँपालिका र बराहताल गाउँपालिका गरी ३ नगरपालिका र २ गाउँपालिको नेतृत्व परेको छ । यस्तै, तत्कालीन माओवादीको तर्फबाट वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका र चिङगाड गाउँपालिको नेतृत्व परेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा गंगाराम तिमिल्सेना र सचिवमा गणेश वली, भेरीगंगा नगरपालिकामा नरेन्द्र कार्की अध्यक्ष र सचिवमा टीकाराम सुवेदी, गुर्भाकोट नगरपालिकामा देवबहादुर खत्री अध्यक्ष र मोती विक सचिव, पञ्चपुरी नगरपालिकामा मनबहादुर विक अध्यक्ष र केशवबहादुर शाही सचिव, लेकबेसी नगरपालिकामा टीकाराम सोमई अध्यक्ष र मदन गाहालाई सचिव चयन गरिएको छ ।

यसैगरी, सिम्ता गाउँपालिकामा कवीन्द्र केसी अध्यक्ष र सचिवमा झुपबहादुर बुढा आश्निल, बराहताल गाउँपालिकामा ओमबहादुर महतरा अध्यक्ष र सचिवमा बलबहादुर कठायत, चौकुने गाउँपालिकामा गंगराम विक अध्यक्ष र हरि अधिकारी सचिव तथा चिङगाड गाउँपालिकामा सम्मर विक अध्यक्ष र हर्कबहादुर राना सचिव पदमा चयन भएका छन् । कर्णालीका सबै जिल्लामा स्थानीय तहसम्मका कमिटीसम्म एकता भए पनि सुर्खेतमा हुन सकेको थिएन । जिल्ला सचिवालयको बैठकले स्थानीय स्तरका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।

Featured