देश शिक्षा

स्वेच्छिक अवकाश लिने शिक्षकलाई १ लाख उपदान

भक्तपुर, कात्तिक २१–चाँगुनारायण नगरपालिकाले स्वेच्छिक अवकाश लिने नगरभित्रका सातवटा विद्यालयका शिक्षकलाई १ लाख रूपैयाँका दरले उपदान प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाको सामुदायिक विद्यालयमा पेन्सन पकाएका ५० वर्षमाथिका शिक्षकलाई स्वेच्छिक अवकाश लिन आव्हान गरेको थियो । सोहीअनुरुप ७ जना शिक्षकले स्वेच्छिक अवकाश रोजेका थिए । उनीहरुलाई नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी सरकारले प्रदान गर्ने पेन्सनका साथै थप एक लाखको चेक र दोसल्लाद्धारा सम्मान गरेको हो ।

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित देवी माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले शिक्षक पेशा सम्मानीय पेशा भएको बताउँदै नेपालमा नै स्वेच्छिक अवकाश लिने शिक्षकलाई सम्मान गर्ने परम्परालाई नगरपालिकाले अंगिकार गर्ने नीति लिएको बताए ।

कार्यक्रममा महेन्द्रग्राम माध्यामिक विद्यालयका उद्धब बहादुर खड्का, कृष्ण माविका कृष्णबहादुर कार्की, पञ्चकन्या माविका जानुका कुमारी पौडेल, बाल्मिकी माविका रामप्रसाद काफ्ले, चाँगुनारायण माविका लक्ष्मीप्रसाद सुवाल, बाल्मीकेश्वर माविका श्यामप्रसाद तिमल्सिना र गणेश माविका सानुभाइ खत्रीलाई १ लाख रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।

Featured