देश

किर्ते गरी जग्गा नामसारीः कार्यालय प्रमुखमाथि अनुसन्धान

धनुषा, कात्तिक २१–किर्ते कागजात खडा गरी एकको जग्गा अर्कैलाई नामसारी गर्ने जिल्ला मालपोत कार्यालय धनुषाका दुई कर्मचारीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ। अख्तियार अनुसन्धान बर्दिबासको कार्यालयले मालपोत कार्यालय प्रमुख र फाँटको कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो।

भूमाफियाको प्रभावमा परी मालपोत कार्यालयका कर्मचारीले हकवालालाई थाहै नदिई अर्कैलाई जग्गा नामसारी गरिदिएपछि मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत रामबाबु मण्डल र फाँटवाला नायब सुब्बा गुरु भट्टमाथि अख्तियारले अनुसन्धान थालेका छन्।

जनकपुर उपमहानगरपालिका–१९ साबिक बेंगाशिवपुर गाविस–७ (क) स्थित कौशलकिशोर ठाकुरका नाममा रहेको कित्ता नं. ४८८ को १७ धुर र कित्ता नं. ४८९ को पाँच बिघा ६ कट्ठा १० धुर जमिन धनुषा मालपोत कार्यालयले किर्ते गरी हकवाला खडा गरी नामसारी गरेको पाइएको हो।

२०२३ सालमा नापी हुँदा फिल्ड बुकमा उल्लिखित साबिक बेंगा शिवपुर गाविस–७ (क) स्थित ठाकुरको नाममा रहेको जग्गा २०७६ जेठ २८ गते तत्कालीन मालपोत अधिकृत रामबाबु मण्डल र फाँटवाला नायब सुब्बा गुरु भट्टले जनकपुर उपमहानगरपालिका–१० का सूर्यनारायण वैष्णवको नाममा नामसारी गरेको पाइएको हो।

Featured