देश

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

संखुवासभा, कात्तिक २०–आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारीका लागि संखुवासभा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । सदरमुकाम खाँदबारी र मकालु गाउँपालिकामा बुधबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारी जिल्ला समन्वय समितिको कार्यालय सँगै र निर्वाचन अधिकृतको कार्यालय मकालु गाउँपालिका–५ को भवनमा रहने गरी दुवै स्थानमा बुधबार कार्यालय स्थापना गरिएको हो ।

खाँदबारी नगरपालिका–३ को वडाअध्यक्षका लागि हुने उपनिर्वाचनमा जिल्ला न्यायाधीश शान्तिकुमार आर्चायलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने मकालु गाउँपालिकाको अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला न्यायाधिवक्ता तिलकबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

बुधबार खाँदबारी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै न्यायाधीश शान्तिकुमार आर्चायले भयरहित निष्पक्ष वातावरणमा चुनाव गर्नुपर्ने दायित्व रहेको र त्यो जसरी भए पनि जिम्मेवारी पूरा गर्ने बताए । उनले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न दलहरूसँग आग्रहसमेत गरे।

Featured