देश

ओसाका उडान नाफामा जाँदैछ : वायुसेवा निगम

काठमाडौं, कात्तिक २०–नेपाल वायुसेवा निगमले काठमाडौंदेखि जापानको ओसाका उडान घाटामा नरहेको दाबी गरेको छ । निगमले गत भदौबाट काठमाडौं–ओसाका उडान सुरु गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ओसाका उडान फाइदामा जाने निश्चि रहेको दाबी गरेका हुन् । ‘यसलाई घाटाको योजना भन्न मिल्दैन । हामीलाई यात्रुको अभाव छैन, ओसाकापछि कात्तिकभित्रै नारिता उडानका लागि आवश्यक प्रक्रिया सक्छौं । त्यसपछि फाइदामा जाने निश्चित छ,’ उनले भने ।

केही महिनाभित्रै ५८ करोड रुपैयाँ बचत हुन पुगेको दाबी उनले गरे । ‘नेपाल वायुसेवाको प्रणालीमा गरिएको सुधार र बजेट किफायतीका कारण यो रकम बचत भएको हो,’ उनले भने, ‘यसैबाट निगमले तिर्नुपर्नेमध्ये जरुरी ३३ करोड रुपैयाँ (ओभरड्राफ्ट) चुक्ता भएको छ ।’

यद्यपि, निगमले तत्काल वाइडबडी किन्दाको किस्ता भने तिर्न नसक्ने उनले स्पष्ट पारे । ‘जेजति बचत भए पनि तत्काल वाइडबडी खरिदको किस्ता रकम तिर्न सक्ने अवस्गा छैन, यसमा सरकारको भूमिका प्रमुख हुन्छ, हामीले आशा छ, सरकारले सदासयता देखाउने छ ।’

भ्रमण वर्षमा वायुसेवाले अढाइ लाख विदेशी पर्यटक नेपाल ल्याउने अपेक्षा गरिएको उनले बताए । ‘हाल वर्षमा औसत डेढ लाख विदेशी यात्रु नेपाल वायुसेवाबाट नेपाल आउँछन्, थपिएका उडान सफल भएमा यात्रु संख्या बढ्ने कुरामा दुईमत नै छैन,’ उनले भने । निगमले बेइजिङ, सांघाई, ढाका, याङ्गुन, हनोइ, नोम्पेह र कोलम्बोमा उडान भर्न पहल गरिरहेको जानकारी दिएको छ ।

Featured