देश

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभा, कात्तिक २०–संखुवासभाको उत्तरी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा मकालु र भोटखोलाका हजारौं घरपरिवार सञ्चारसेवाबाट वञ्चित भएका छन् ।

मकालु गाउँपालिका–५ को मांसिमा डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो । टेलिफोन अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीय सुजन गुरुङले गुनासो गरे । उनी मात्र होइन, उत्तरी क्षेत्रका बासिन्दाले एक महिनासम्म आफन्तजनसँग कुराकानी गर्न नपाएको बताए ।

महिना दिन बित्दासमेत सरोकारवाला निकायले ध्यान नदिँदा स्थानीयले सञ्चार सेवाबाट वञ्चित हुनुपरेको मकालु गाउँपालिका–३ का सुजन गुरुङले बताए । उनले भने, ‘हामीले टेलिकम कार्यालय खाँदबारीलाई पटक–पटक जानकारी गराउँदासमेत विभिन्न कारण देखाउँदै आलटाल गरेको छ ।’

सो क्षेत्रमा वर्षायाममा घाम लागेको बेला मात्र टेलिफोन सेवा पाइने गरेको स्थानीयवासीको भनाइ छ । नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराईले उत्तरी क्षेत्रको सञ्चार सेवा चाँडै सुचारु हुने बताए । समस्या समाधानका लागि प्राविधिक टोली माग गरिसकेको र केही दिनमै सेवा सुचारु हुने उनको भनाइ छ । नेपाल टेलिकम खाँदबारीमा पटक–पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएका गुनासा निवेदनहरू चाङ लागेर थन्किने गरेका छन् ।

Featured