देश

नेकपा पार्टी कार्यालय भक्तपुरको ताला खुल्यो

भक्तपुर, कात्तिक २०–नेकपामा उम्मेदवारी विवादसँगै पार्टी कार्यालयमा लगाएको ताला खुलेको छ । कात्तिक १८ गते भक्तपुर नगरपालिका– ५ स्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला पार्टी कार्यालयमा पार्टीले स्थानीय पार्टी कार्यकर्ताको भावनाविपरीत उम्मेदवार सिफारिस गरेको भन्दै पूर्वएपाले पक्षधरले ताल लगाएका थिए ।

नेकपाले भक्तपुर– १ प्रदेशसभा क को उम्मेदवारमा पूर्वमाओवादी पक्षका डीपी ढकाललाई सिफारिस गरेको भन्दै त्यसको विरोधस्वरुप पूर्वएपाले पक्षधरले पार्टी कार्यालयमा ताला लगाएका थिए । नेकपा भक्तपुरका जिल्ला कमिटीका सदस्यहरू साधुराम दाहाल र मन्दरा मिश्रलगायत दर्जनौं असन्तुष्ट कार्यकर्ताहरूको उपस्थितिमा टुरिस्ट नेता चाहिँदैन भन्दै भक्तपुर जिल्ला पार्टी कार्यालयमा ताला लगाएका थिए ।

उनीहरूले लगाएको अनिश्चितकालीन तालाबन्दी तेस्रो दिन नेकपा भक्तपुर जिल्ला अध्यक्ष वच्चन देउजाले पार्टीले गरेको निर्णयलाई मान्नुपर्ने भनी ताला लगाउने असन्तुष्ट समूहलाई मौखिक रूपमा सम्झएपछि चाबी मगाई दिउँसो ताला खोलिएको हो । जिल्ला अध्यक्ष देउजाले एक्लै आएर ताला खोलेका थिए ।

Featured