देश

दसैं–तिहार लक्षित सुपथ मूल्य पसलको कारोबारमा भारी गिरावट

धनगढी, कात्तिक २०–यस वर्ष दसैं तिहारलाई लक्षित गरी सञ्चालन भएका सुपथ मूल्य पसलको कारोबारमा भारी गिरावट आएको छ । गत वर्ष प्रदेशका सात ठाउँमा सञ्चालन भएका सुपथ मूल्य पसल यस वर्ष धनगढीमा एक ठाउँबाट मात्रै सञ्चालन भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष ३७ लाख ४४ हजारको मात्रै कारोबार भएको छ । यस वर्ष १ करोड २० लाख रुपैयाँको मात्र कारोबार भएको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए ।

प्रदेशका सबै ठाउँमा इन्टरनेटको पहुँच नहुनु तथा अनलाइन ढुवानीका कारण कारोबारमा गिरावट आएको उनको भनाइ थियो । उनका अनुसार स्थानीय तहको सक्रियतामा सञ्चालन हुन सक्ने पसलका लागि कुनै पनि पालिकाबाट समेत पहल नभएकाले यो वर्ष पसल सञ्चालनमा कठिनाइ भएको हो ।

डोटीको केआई सिंह गाउँपालिकाले १८ लाखको कारोबार गरे पनि अन्य कुनै स्थानीय तहले त्यसको पहल गर्न नसकेको उनको भनाइ छ । साल्ट ट्रेडिङले प्रदेशका नौ जिल्लामा झन्डै ३० वटा स्थानबाट कारोबार गर्दै आएको छ ।

तर ती कुनै पनि कार्यालयमा इन्टरनेटको पहुँच र जनशक्ति नभएपछि सरकारले अनिवार्य गरेको अनलाइन बिलिङ प्रक्रियामा कुनै पनि कार्यालय जान सकेका छैनन् । यसले गर्दा पनि कारोबारमा गिरावट आएको साल्ट ट्रेडिङको प्रदेश कार्यालयको भनाइ छ ।

Featured