देश

भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि सुदूरपश्चिममा प्रदर्शन

धनगढी, कात्तिक २०–भारतीय नक्सामा नेपाली भूमि समेटिएको विरोधमा सुदूरपश्चिम प्रदेशमा प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेकपासम्बद्ध युवा संघ र विद्यार्थी संगठनले बुधबार धनगढीमा विरोध प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयअगाडिबाट सुरू भएको र्याली मुख्यमन्त्री कार्यालयअगाडि पुगेर समापन भएको थियो । र्यालीमा ‘गो ब्याक इन्डिया’, भारतीय प्रधानमन्त्री मूर्दावाद, आफ्नो भूमि छोड्दैनौंजस्ता नारा प्रदर्शनकारीले लगाएका थिए ।

भारतले नेपालको भूमिलाई समेटेर नक्सा बनाएपछि त्यसको कञ्चनपुरमा पनि विरोध प्रदर्शन भएको छ । भारतले हालै सार्वजनिक गरेको देशको नक्सामा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर संस्थागत रूपमै नेपालको भूमि अतिक्रमण गरेको भन्दै सत्ताधारी युवा–विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् ।

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरका युवा र विद्यार्थीले बुधबार साँझ कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन् । उनीहरूले ‘भारतीय विस्तारवाद मूर्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए । प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोसमेत दहन गरेका छन् ।

नेकपानिकट विद्यार्थी नेता वीरेन्द्रराज विष्टले भारतले दार्चुलाको नेपाली भूमि अतिक्रमण गरेको झण्डै ६ दशकपछि संस्थागत रूपमा आफ्नै भूमि बनाउने कुचेस्टा गरेकाले त्यसको विरोधमा विद्यार्थी युवा आन्दोलित भएको बताए । नेकपा कञ्चनपुरका युवा संगठनका नेता रामचन्द्र रेग्मीले भारतले नेपालप्रति हेपाहा प्रवृति देखाएको बताउँदै अतिक्रमित भूमि फिर्ता नहुँदासम्म आन्दोलन जारी राखिने बताए ।

नेकपाका युवा र विद्यार्थीले आफ्नो पार्टी सरकारमा भए पनि राष्ट्र, राष्ट्रियता र मातृभूमिका लागि जस्तोसुकै संघर्ष गर्न पछि नपर्ने घोषणा गरेका छन् । उनीहरूले सरकारले यसबारे यथाशीघ्र कूटनीतिक पहल गरेर भए पनि आफ्नो भूमि फिर्ता गराउनुपर्ने माग अघि सारेका छन् ।

Featured