देश

‘जब सञ्चार माध्यममा हाम्रा कुरा आउँछ, खुशीको सीमा रहँदैन’

सुर्खेत, कात्तिक २०–कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस, सुर्खेतबाट प्रतिनिधित्व गरेकी सांसद अमृता शाहीले पत्रकार र राजनीतिकर्मी नङ र मासुजस्तै भएको बताइन् । सञ्चारिका समूह काठमाडौँले बुधबार सुर्खेतमा आयोजना गरेको अन्तर्क्िरया कार्यक्रममा उनले सञ्चार माध्यममा आफ्नो कुरा आउँदा ‘संसारै पाएको’जस्तो लाग्ने सुनाइन् ।

पत्रकार र महिला सांसद बीचको सो अन्तर्क्िरयामा बोल्दै उनले सञ्चार माध्यम आफूहरुको हौसला भएको बताइन् । ‘प्रायः सञ्चार माध्यमले पुरुषका कुरा मात्रै बाहिर ल्याउँछन् । तर सुर्खेतका सञ्चार माध्यमहरुले भने हामीलाई स्थान दिएका छन्,’ उनले भनिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, कालीकोटबाट प्रदेश सभामा प्रतिनिधित्व गरेकी सांसद शोसीला शाहीले पनि सञ्चार माध्यमबाट आफूले राम्रो सहयोग पाएको बताइन् । ‘म राप्रपाको तर्फबाट एक मात्रै महिला प्रतिनिधि हुँ,’ उनले भनिन्, ‘मैले आजसम्म संसदमा उठाएको सबै कुराले स्थान पाएका छन् । आफूले बोलेका कुरा प्रत्यक्ष सुन्न पाउँदा खुशीको सीमा रहँदैन ।’

कार्यक्रमका केही सहभागीले भने मिडियाकै कारण महिला ‘उप’मा बस्नु परेको बताए । सांसद पद्मा खड्काले पार्टीले महिलाहरुलाई प्रत्यक्षमा टिकट नदिए पनि सञ्चार माध्यमले समेत आकांक्षी महिलाको विषयमा समाचार नलेखेको गुनासो गरिन् । ‘संविधानले व्यवस्था गरेकै कारण आज धेरै महिलाले अवसर पाएका छन् । तर अधिकांश महिला उपमा र समानुपातिकमा चित्त बुझाउनु परेको छ,’ उनले भनिन् । त्यस्तै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि शान्ति सिंहले महिला आफैँले पनि सञ्चार माध्यमसँग सम्पर्क बढाउनु पर्ने धारणा राखिन् । सञ्चारिका समुहले दुई दिनसम्म महिला पत्रकारका लागि ‘निर्वाचन र आमसञ्चार माध्यम’ विषयक तालिमको तेस्रो दिन अन्तर्क्िरया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले महिलाहरु जु्नसुकै क्षेत्रबाट पनि अगाडि आउनुपर्ने बताइन् । पार्टीले प्रत्यक्षमा टिकट दिएको बेलामा सुरक्षित हुनको लागि समानुपातिक रोज्ने महिलाको प्रवृत्ति हटाउनुपर्ने उनको धारणा थियो ।

पछिल्लो समयमा चुनाव पैसा भएकाहरुका लागि मात्रै भएको भन्दै मन्त्री अर्यालले यसमा सबै सजग हुनुपर्ने बताइन् । ‘हिजो चौतारीमा गरेको एउटा भाषणले दश वर्ष राजनीति सुरक्षित भएजस्तो आजको अवस्था छैन । राजनीतिकर्मीहरु अध्ययनशील र अनुशासित पनि हुनु जरुरी छ ।’

कार्यक्रममा कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीले महिलाहरुलाई आन्तरिक समस्या समाधान गर्दै पुरषसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भएको बताइन् । पुरुषले पैत्रिक सम्पत्ति बेचेर पनि निर्वाचन लड्ने तर पैत्रिक सम्पत्तिमा महिलाहरुको पहुँच नभएकै कारण पछाडि परेको विचार व्यक्त गरिन् ।

Featured