देश

बोक्सी भन्दै ससुराले तातो फलामले डामे, पीडकलाई अझै उन्मुक्ति

इलाम, कात्तिक २०–पाँचथरको याङ्वरक गाउँपालिका–२, फलैंचामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै मानसिक र शारीरिक यातना दिइएको छ । बोक्सीको आरोप लगाउँदै ससुरा प्रसाद (परिवर्तित नाम)ले यातना दिएको पीडित लुना (परिवर्तित नाम)ले प्रहरीमा उजुरी दिएकी छिन् । उजुरी दिएको लामो सयम वितिसक्दापनि प्रहरीले ससुरामाथि कुनै कारवाही प्रक्रिया अघि नवढाएको भन्दै लुनाले गुनासो गरिन् ।

ससुराले छिमेकीसँग मिलेर आफूलाई निर्घात कुटपिट गरेको उनले बताइन् । ‘फलाम आगोमा तताएर डाम्न खोजेपछि फुत्किएर भागें,’ हाल माइतमा बस्दै आएकी लुनाले भनिन्, ‘गत भदौ अन्तिमदेखि बोक्सी भन्दै कुटपिट गर्ने, फलाम तताएर डाम्ने जस्ता कार्य ससुराबाटै भयो, छोरा (पीडितका श्रीमान्) लाई खान लागिस् भन्दै कुटेपछि भागेर माइत र प्रहरी गुहारेकी हुँ ।’

कुटपिट गरेकै रात प्रहरीमा मौखिक उजुरी गरे पनि प्रहरीले लिखित निवेदन नदिएको भन्दै सुनुवाइ नगरेको उनको भनाइ छ । प्रहरीले जाहेरी दिन भनेपछि २७ असोजमा जाहेरी दिए पनि पीडितमाथि अझै कारबाही नभएको उनको गुनासो छ ।

पाँचथर प्रहरी प्रवक्ता अनिलकुमार पौडेलले भने आरोपित फरार रहेको र खोजी भइरहेको बताए । पीडित अहिले हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बास्थित माइतीघरमा बस्दै आएकी छिन् ।

Featured