देश

पर्यटकको आकर्षण बन्दै तारेभिर पोखरी

पोखरा, कात्तिक २०–कालान्तरदेखि वर्षातको पानी संकलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभिर पोखरी संरक्षण र आवश्यक भौतिक संरचना निर्माणसँगै यो आन्तरिक एवं बाह्य पर्यटकको पनि आकर्षण बनेको हो । स्थानीय ९२ वर्षीय जंगबहादुर गुरुङका अनुसार खानेपानीको समेत अभाव रहेको तत्कालीन अवस्थामा पशुपालन र खेत रोप्नका लागि तारेभिर पोखरीको पानी प्रयोग गर्दै आइएको थियो ।

गाउँको सिरानमा रहेको पोखरीमा वर्षौंभर पानी रहने गरेको अनुभव सुनाउँदै उनले त्यस समयमा पशुलाई पोखरीमै लगेर पानी खुवाउनुको साथै भैँसीका लागि आहाल बस्न उपयोगी भएको थियो । गाउँको इतिहासको साक्षीजस्तै बनको पोखरी यतिखेर संरक्षण र पूर्वाधार विकाससँगै पर्यटकीय गन्तव्य जस्तै बनेको उनले बताए ।

त्यस समयमा खानेपानी भने आधा घण्टा लगाएर धाराखोलाबाट ल्याउने गरेको उनले जानकारी दिए । अहिले भने पातलाखर्कबाट पाइपमा ल्याइएको पानीका धारा घरघरमा रहेको उनले बताए । समुद्री सतहदेखि लगभग १ हजार ६ सय मिटरको उचाइमा अवस्थित २० मिटर लम्बाइ, १५ मिटर चौडाइ रहेको पोखरीको गहिराइ साढे एक मिटर रहेको वडासदस्य चेतभक्त बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगर वडास्तरीय बजेट २ लाख ५० हजार रुपैयाँ र हरियो वन कार्यक्रमको ७५ हजार रुपैयाँ एवं स्थानीय जनसहभागिता परिचालन गरी लगभग ४ लाख रुपैयाँको लागतमा पोखरीको पुनर्निर्माण गरिएको हो । पोखरीको चारैतर्फ पक्की पर्खाल लगाई करिब १० मिटर उचाइको तारजालीले बारेर दुई वटा ढोका राखेपछि संरक्षणसहित सफा र सुन्दरतामा सहयोग पुगेको उनले जानकारी दिए ।

आफू सानो हुँदा पोखरीको पानीमा पौडी खेल्ने गरेको स्मरण गर्दै स्थानीय डिलबहादुर गुरुङले अहिले संरक्षण गरेसँगै पोखरीमा माहुर जातका ८ सय माछाका भुरा हालेको बताए । पोखरीमा अहिले भैँसीलाई आहाल बस्न नदिने गरी संरक्षण गरिएको बताउँदै उनले पोखरीको निकासबाट तल्लो भेगमा रहेको दस घर परिवारको लगभग १५ हल खेतमा सिँचाइको सुविधा पुगेको बताए ।

अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत मनोरम हिमशृंखलासहित फेवाताल र केही पोखरा बजारको समेत दृश्यावलोकन गर्न सकिने उक्त स्थानमा अहिले पनि दैनिक ५० देखि १ सयसम्म पर्यटक आउने गरेको उनको भनाइ छ । पोखरीबाट नजिकै रहेको पुम्दीभुम्दीको कालाबाङ घडेरी घरवास कार्यक्रममा आउने पाहुनालाई उक्त रमणीयस्थलसम्म र्पुयाउने पहल भइरहेको बताउँदै उनले यसको प्रचारप्रसारको आवश्यकता रहेको औँल्याए ।

तारेभिर पोखरीको आँगनमा रहेको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसादले पोखरीलाई विद्यालयको आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताए । विद्यालयमा हाल ४० विद्यार्थी अध्ययनरत छन् । पोखरा(सिद्धार्थ राजमार्ग खण्डको छोरेपाटनदेखि पर्यटकीयस्थल शान्ति स्तूपा हुँदै पलाइचे गाउँको सिरानमा रहेको उक्त पोखरीसम्म पुग्नको लागि कच्ची मोटर बाटो निर्माण गरी यातायाताको सुविधासमेत पुगेको छ ।

तत्कालीन आवश्यकताका लागि पुर्खाले सयौँ वर्षअघि खनेका तारेभिरजस्तै प्राचीन पोखरीको संरक्षणसहित पर्यटन प्रवर्द्धन गर्न सके ग्रामीण क्षेत्रमा हुने प्रांगारिक उत्पादनको बजारीकरणमा सहयोग पुग्ने र स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । (रासस)

Featured